आवास व्यवस्था गर्नु सरकारको कर्तव्य : राष्ट्रपति
February 7th, 2018 | Post by :- | 17 Views

गौर : चन्द्रपुर-८ स्थित सन्तपुरमा निर्माण गरिएको नमुना बस्ती धुर्मुस-सुन्तली फाउन्डेसनले हस्तान्तरण गरेको छ। बाढीपीडितका लागि निर्माण गरिएको एकीकृत नमुना सन्तपुर बस्ती मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मुख्य द्वारमा रिबन काटेर नमुना बस्ती उद्घाटन गरी साँचो बस्ती निर्माण समिति अध्यक्ष सत्यनारायण माझी मुसहरलाई हस्तान्तरण गरिन्। राष्ट्रपतिले बालबालिका, अपांगता र वातावरणमैत्री बस्ती निर्माण गरेको भन्दै फाउन्डेसनको कामको प्रशंसा गरिन्। फुसका घर विस्थापित गर्दै सबैलाई न्यूनतम सुविधायुक्त आवास व्यवस्था गर्नु सरकारको कर्तव्य भएको उनले बताइन्। उनले क्षमताले भ्याएसम्म प्रत्येक नागरिक विकासको महाभियानमा लाग्नुपर्नेमा जोड दिइन्। विकासका काममा सरकार समुदायमैत्री बन्नुपर्ने उल्लेख गर्दै समुदाय र सरकारबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गरिन्।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस-सुन्तली (सीताराम कट्टेल-कुञ्जना घिमिरे)ले उदाहरणीय काम गरेको उल्लेख गर्दै यसबाट सबै नेपालीलाई यस्ता काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। अर्का हास्य कलाकार हरिवंश आचार्यले राम्रो काम गर्नेहरू ‘कहिल्यै नमर्ने’ भन्दै धुर्मुस-सुन्तलीले मानवीय सेवा गर्ने सपना पूरा गर्दै आएको बताए। यस्ता कामले सारा नेपालीको छाती गर्वले उठेको उनको भनाइ थियो।

फाउन्डेसन अध्यक्ष धुर्मुसले चाडपर्वसमेत नभनी हरेक दिनलाई पर्वकै रूपमा लिएर एक सय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएको भन्दै खुसी व्यक्त गरे। बस्ती हस्तान्तरणको दिन सबैभन्दा ठूलो पर्व महसुस भएको उनले सुनाए।

आफैंलाई बिर्सेर बस्ती निर्माणमा लागेको उल्लेख गर्दै उनले भने, ‘यसरी नै सरकारले देश विकासका काम गरेको भए आज यस्ता चारवटा नमुना बस्ती ठड्याउनुपर्ने अवस्था नै आउने थिएन होला।’ फाउन्डेसनले इँटा, ढुंगा मात्र जोड्ने काम नगरेको सुनाउँदै उनले सारा नेपालीको भावना जोड्ने प्रयास गरेको बताए।

१७ सय रुपैयाँ बोकेर राजधानी छिर्दा कुनै सपना र योजना नरहेको सुनाउँदै उनले पवित्र उद्देश्य र निस्वार्थ भावना लिएर अगाडि बढ्दा सहयोगी हात धेरै पाइने अनुभव सुनाए। एक व्यक्तिले थालेको अभियानमा दुई वर्षको अवधिमा चारवटा बस्ती निर्माण गर्दा १७ करोडभन्दा बढी ‘असाधारण आर्थिक सहयोग जुटेको’ उनले जानकारी दिए। सरकारले आफूलाई सरसफाइ दूत र पुनर्निर्माण दुतको सम्मान दिएको उल्लेख गर्दै उनले नाम र पदभन्दा पनि काममा रमाउन चाहने भन्दै काम दिनुपर्ने स्पष्ट पारे।

उनले बस्ती निर्माण सरकारलाई चुनौती नभई विपत्का बेला आमनेपालीले गर्नुपर्ने कर्तव्य र राष्ट्रसेवा भएको बताए। ‘राज्यले थालेको पुनर्निर्माणको काम कछुवा गतिमा अगाडि बढ्ने हो भने अहिलेका पीडितका कुन पुस्ताले सुरक्षित घरमा बस्न पाउने हुन् ? ’, उनले प्रश्नसमेत गरे, ‘नमुना नेपाल त हामी बनाउँछौं तर साँच्चीकै समृद्ध नेपाल सरकारले बनाओस् भन्ने चाहना छ।’

फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले नमुना बस्तीमा आएको सकारात्मक परिवर्तनले मानवीय सेवामा अझै सक्रिय रहन प्रेरित गरेको सुनाइन्। हजारौं बाढीपीडितलाई राहत र उद्धार गरेर उनीहरूको जीवनमा खुसी ल्याउन सफल भएको उल्लेख गर्दै उनले लामो समय चलेको शीतलहरले विपन्न बस्तीमा न्यानो बोकेर पुगेको सुनाइन्।

प्रतिकूल अवस्थामा सहयोगीको हौसल्लाले बस्ती तोकिएको मितिभन्दा एक दिनअगावै हस्तान्तरण गर्न पाएको उनले बताइन्। यद्यपि, ७० लाख रकम अझै अपुग रहेको जानकारी उनले दिइन्।

पाँच करोड ९५ लाख लागतको नमुना बस्तीमा ४७ वटा आवासीय घर, बाल विकास विद्यालय, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्युटावर, खानेपानी धारा, बाटो निर्माण गरिएको छ। असोज २८ गते निर्माण थालिएको नमुना बस्तीको काम एक सय १५ दिनमा समुदायलाई हस्तान्तरण गरिएको हो।